२९ आषाढ, जाेमसाेम ।
मुस्ताङखबर
घरपझाेङ गाउँपालिका वडा नं. ३ स्याङमा अपाङ्गता परिचयपत्र वितरण गरिएकोछ । घरपझोङ गाउँ कार्यपालिकाको कार्यालय अन्तर्गत महिला तथा बालबालिका शाखाको आयोजनामा सो कार्यक्रम आयोजना गरिएको हो । उक्त कार्यक्रममा विभिन्न १२ जना अपाङ्गता भएका व्यक्तिहरूलाई परिचयपत्र प्रदान गरिएको हो ।

परिचयपत्र वितरण कार्यक्रम गाउँपालिकाका उपाध्यक्ष तथा अपाङ्गता भएका व्यक्तिहरूलाई परिचयपत्र वितरण गर्ने समितिका संयोजक श्री सर्मिला गुरूङको अध्यक्षतामा भएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा गाउँपालिकाका अध्यक्ष श्री आसबहादुर थकालीको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा संबोधन गर्दै गाउँपालिकाका अध्यक्ष श्री आसबहादुर थकालीले अपाङ्गता भएका व्यक्तिहरूको भलाईका लागि गाउँपालिकाले विभिन्न कार्यक्रमहरू कार्यान्वयन गर्दै आइरहेको वताउनु भयो ।

कार्यक्रममा अध्यक्ष तथा गाउँपालिकाका उपाध्यक्ष श्री सर्मिला गुरूङले सबै घरपरिवारमा अपाङ्गता भएका व्यक्तिहरूको सम्मान हुनुपर्ने वताउनु भयो । सबै अभिभावक तथा संरक्षकहरूले ऊनीहरूको शिक्षादिक्षाका लागि अग्रसरता लिनुपर्ने बताउनु भयो ।

कार्यक्रममा ३ नंबर वडाका अध्यक्ष श्री महेन्द्र थकाली, वडा सदस्य श्री शान्ति थकाली, मुस्ताङ जिल्ला अस्पतालका मेडिकल अधिकृत, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा मुस्ताङ जिल्ला अपाङ्ग समाजका अध्यक्ष समेत अपाङ्गता भएका व्यक्तिहरूका अभिभावक तथा संरक्षकहरूको उपस्थिति थियो ।

उक्त कार्यक्रममा गाउँ कार्यपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत श्री नेत्रप्रसाद पौडेलले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो भने सञ्चालन गाउँ कार्यपालिकाको कार्यालयका महिला तथा बालबालिका शाखाका शाखा प्रमुख श्री सरिता थकालीले गर्नुभएको थियो ।